आज मिति २०८०/०३/१० का दिन जनज्योति क्याम्पस अतिरिक्त कृयाकलाप समितिको आयोजनामा भिमाद नगरपालिका अन्तर्गतका माध्यमिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। अतिरिक्त कृयाकलाप समिति संयोजक तथा सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रम भिमाद नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पदमराज आचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा भिमाद नगरपालिका मा रहेका जम्मा १८ माध्यमिक विद्यालय मध्ये १७ विद्यालयको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा मन्तब्य राख्नुहुँदै प्रमुख अतिथि पदमराज आचार्यले यस वर्तमान अवस्थामा हरेक क्षेत्रमा सेवा प्रवेश गर्नका निम्ति सामान्य ज्ञान जरुरी हुने बताउँदै क्याम्पसले यस किसिमको कार्यक्रम आयोजना गरेको प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा यस किसिमका कार्यक्रमका लागि सहकार्य गर्न सकिने बताउनुहुँदै कार्यक्रमको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्ले, प्राध्यापक संघ सभापति हरिप्रसाद सुवेदी, जनज्योति माविका प्रधानाध्यापक चन्द्रप्रकाश सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अतिरिक्त क्रियाकलाप समिति सदस्य दीपक भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा स्ववियु सभापति एवम् अतिरिक्त क्रियाकलाप समिति सदस्य विवश पराजुलीले स्वागत गर्नुभएको थियो भने दीपक माविका प्रधानाध्यापक शंकर खनालले सहभागी विद्यालयको तर्फबाट धन्यवाद मन्तब्य राख्नुभएको थियो । General Round, Audio-Vidual Round तथा Rapid Fire Round गरी तीन चरणमा सम्पन्न भएको प्रतियोगितामा जनज्योति मावि प्रथम, पाटन बोर्डिङ स्कुल द्वितीय, भिम मेमोरियल इङ्लिस बोर्डिङ स्कुल तृतीय तथा माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुल र बुचाखानी मावि ले चौथो स्थान हासिल गर्न सफल भएका छन् । सहभागी विद्यालय, विजयी विद्यालय तथा विद्यार्थीहरुलाई आजै प्रशंसा – पत्र, प्रमाण – पत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको क्विज मास्टरको रुपमा कमलकान्त सुवेदी एवम् विवश पराजुलीले सहजीकरण गर्नुभएको थियो । यसैबीच आजको कार्यक्रमको लागि प्रथम पुरस्कार प्रायोजन सहायक प्राध्यापक नारायण मर्सेनीले गर्नुभएको थियो । जनज्योति क्याम्पस परिवार उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
Leave a Reply