जनज्योति क्याम्पसको स्थापनाकालदेखि आजको यस अवस्थासम्म क्याम्पसलाई अकण्टक र सफल नेतृत्व प्रदान गर्दै आउनुभएका जनज्योति क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् तनहुँ जिल्ला क्षेत्र नं २ (ख) प्रदेश सभा सदस्य माननीय जीतप्रकाश आले गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनुभएको मा क्याम्पसको तर्फबाट उहाँलाई बधाई, शुभकामना एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बधाई तथा शुभकामना मन्तब्य राख्नुहुँदै भिमाद नगरपालिका का नगर प्रमुख दाधिराज सुवेदी, ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, वडा अध्यक्ष एवम् सञ्चालक समितिको तर्फबाट श्याम सुन्दर जोशीले नवनियुक्त आर्थिक मामिला मन्त्री जितप्रकाश आलेलाई बधाई दिनुहुँदै जनज्योति क्याम्पस, यस क्षेत्र तथा समग्र गण्डकी प्रदेशको विकासका निम्ति वित्तीय अनुशासन, पारदर्शिता र सुशासनको पक्षमा उभिन को लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व माननीय मन्त्री जितप्रकाश आलेले आफू सार्वजनिक पदमा नरहँदा समेत यही क्याम्पस र समाजको उत्थान तथा विकासमा लागिरहेको र यहाँहरुको सदभाव र शुभेच्छाले गर्दा नै कार्यकारी स्थानमा समेत पुग्न सफल भएको प्रति खुशी व्यक्त गर्दै यस अवस्थामा ल्याई पुर्याउनका निम्ति जनज्योति क्याम्पस, विभिन्न राजनैतिक दल एवम् समुदाय को महत्वपूर्ण भूमिका र योगदान रहेको बताउँदै धन्यवाद व्यक्त गर्नुभयो र आफूले विधिको खिलाफमा गएर कुनै पनि निर्णय नगर्ने समेत प्रतिबद्धता जनाउनुभयो । क्याम्पस प्रमुख केशवराज काफ्लेले स्वागत् मन्तब्य राख्नु भएको कार्यक्रममा स्ववियु सभापति विवश पराजुलीले क्याम्पसको सर्वाङ्गीण विकासमा माननीय मन्त्रीज्युको पक्कै पनि पहल हुने कुरामा विश्वस्त रहेको बताउँदै शुभकामना व्यक्त गर्नुभयो ।

भिमाद नगरालिकास्थित विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य एवम् जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, क्याम्पसका आजीवन सल्लाहकार, सल्लाहकार, आजीवन सदस्य, क्याम्पस सभासद, विभिन्न उपसमिति, पूर्व विद्यार्थी , सम्पूर्ण विद्यार्थीहरु, अभिभावकहरु तथा शुभचिन्तकहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईले गर्नुभएको थियो।
Leave a Reply